१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


बजारमा उपभोक्ताको चहलपल बढेपनि व्यापार भने न्यून


2.132k
Shares

काठमाडौं । दशैं आउँन केहीदिन मात्र बाँकी रहँदा बजारमा उपभोक्ताको चहलपहल बढेको छ । तर बजारमा चहलपहल बढेपनि किनमेल गर्नेहरु भने खासै नभएको पाईएको छ ।

दशैं सुरु भएसँगै हिङदेखि हर्दीसम्मको किनबेच हुने काठमाडौको व्यस्त बजार असनमा भिडभाड बढ्दै गएको छ । अरुबेला सामान्य अवस्थामा चहलपहल हुने असन बजार चाडपर्वमा अझ बढी भीडभाड हुने गर्दछ । असन सबै खाले उपभोक्ताको केन्द्र भएपनि लुगाफाटा किन्ने उपभोक्ताको भीडभाड देखिन्छ ।

बजारमा भिडभाड भएपनि पसल छिरेर किनमेल गर्नेहरु भने कमै देखिएका छन् । पछिल्लो समय भएको आर्थिक मन्दीका कारण उपभोक्ताहरुले खासै पैसा खर्च गर्न नखोज्ने गरेका छन् । पसल छिरेपनि महंगो भन्दै उपभोक्ताहरु फर्केर जाने व्यापारीहरु गुनासो गर्छन । कोरोनाको समय पछि हरेक वर्ष व्यापार घट्दै गएको व्यापारीको गुनासो छ । वर्ष भरी नभएको व्यापार दशैमा हुन्छ कि भन्ने आशामा बसेका व्यपारी यो वर्षको पनि निराश हुनुपर्ने होकि भन्ने चिन्तामा रहेको धिरेन्द्र कुमार गुप्ता बताउँछन् ।

विगतमा पाईला टेक्न पनि कठिन हुने असनका पसलहरुमा यो पटक सामान किन्न केही सहज छ । महंगीले धेरै उपभोक्ताको क्रय शक्ति हराउँदै गएको छ । विगतका वर्षहरुको तुलनामा यो वर्ष २५ प्रतिशत सम्म पनि व्यापार नभएको व्यापारीहरुले गुनासो गरेका छन् ।

बजारमा सटरमा राखिएको पसलमा भन्दा पनि बढी फुटपाथ पसलमा सामान किनवेच गर्ने बढेका छन् । असन प्रतिस्पर्धी बजार भएकाले पनि उपभोक्ताको ध्यान तानिने गर्छ । विगतका वर्षहरुको तुलनामा यो वर्षको दशैंको व्यापार निकै घटेको व्यापारीहरुको गुनासो छ ।