११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


१० किलो सुन तस्करीका अभियुक्त सार्वजनिक, तिब्बतबाट यसरी ल्याइयो अवैध सुन


0
Shares

गोरखा, भदौ २५ । अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेकोे सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नम्बर–७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन् ।

गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्टअगाडि जाँचकाक्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका थिए ।

ऊनीको गलबन्दीभित्र पाँच किलो सुन राखी बाहिरबाट सिलाइ कम्मरमा पेटीजस्तो बनाइ ल्याएको अवस्थामा प्रहरीले लामालाई पक्राउ गरेको हो ।

लामाको साथबाट थप कानमा लगाउने कन्दरा सात तोला बराबरको दुईथान, टप एक तोला बराबरको दुईथान बरामद भएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए ।

पक्राउ परेका तेन्वेले भने पछाडि बोक्ने रातो रङको झोलामा राखेर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए ।

तिब्बतको जोंग भन्ने स्थानबाट चिनजानका च्याङ्चीन भन्ने चिनियाँ नागरिकले काठमाडौं पुर्‍याइदिनू भनी सुन पठाएको अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।

‘अभियुक्त दुईजनाको फोन नम्बर राखी काठमाडौं जानू, त्यहाँ पुगेपछि फोन गर्ने व्यक्तिलाई दिनू भनेर सुन बोकाएर पठाएको पाइयो’–प्रहरी प्रमुख बस्नेतले भने–‘निजहरुलाई सुन पुर्‍याएबापत रु ५० हजार दिने सहमति रहेको बुझियो ।’

उनीहरुले चुमनुव्री गाउँपालिका वडा नम्बर–७ को सिर्दिबासस्थित स्यात्ला नाकाबाट हुँदै तिब्बतबाट अवैध सुन भित्र्याएको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए ।

गोरखाको चुमनुव्री गाउँपालिकामा सडक सन्जाल नजोडिएकाले हवाईमार्ग हुँदै आवात–जावत गर्नुपर्ने भएपछि सो क्षेत्र हुँदै तस्करी बढेको आशंकामा जिल्ला प्रशासन कार्यालयले केही दिनअघिदेखि कडाइ गरेको थियो ।

प्रशासनको निर्णयअनुसार उत्तरी क्षेत्रमा उडान भर्ने सबै हेलिकोप्टरमा अनिवार्य जाँच गर्न थालिएपछि सडकमार्ग हुँदै तस्करी सुरु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस