
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सवै धार्मिक संघ, संस्थाहरुलाई अपिल गर्नुभएको छ ।
व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक संघ, संस्थाहरुले पनि पहल गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको भनाई थियो । एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उहाँले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ-आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गर्नुभयो ।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक संघ, संस्थाका प्रतिनिधिहरुलाई बोलाएर उहाँले मुलुकमा नियोजित रुपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिनुभयो । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरु देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।
गृहमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्