Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित हुँदैन : यातायातमन्त्री ज्वाला


182
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा रत्नपार्क–सूर्यविनायकसम्म मात्रै सिमित नरहने बताउनुभएको छ ।

बुधवार संविधान दिवसको अवसरकाठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा द्रुत बस सेवाको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । उहाँले द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा मात्रै सिमित नहुने भन्दै सरकारले एयरपोर्ट,रिङरोड,नागढुङ्गा,ललितपुर,बालाजु,महाराजगञ्ज र चाबहिल क्षेत्रमा पनि बिस्तारै बिस्तार गर्दै लैजाने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री ज्वालाले बिहान र बेलुका अफिस समयमा धेरै यात्रुको चाप हुने र धेरै बसहरुको आवश्यकतालाई ध्यानमा राखेर यात्रुहरुको सहजताको लागि बिहान–बेलुका दुई–दुई घण्टा द्रुत बस सेवा शुभारम्म गरिएको बताउनु भयो । उहाँले दु्रत बस सेवालाई सरकारले विस्तार मात्रै नभएर निरन्तरता दिने बताउनु भयो । उहाँले द्रुत बस सेवा सरकारले आज जुन उत्साहका साथ शुरु गरेको छ त्यही उत्साह निरन्तर रुपमा सधैँको निम्ति रहने गरी यो कामलाई अगाडी बढाउने बताउनु भयो । उहाँले बस सेवालाई सरकारले निरन्तर अनुगमन र फलोअप गर्दै जाने र कुनैपनि अवस्थामा अवरोध नपुग्ने गरी निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री ज्वालाले बस सेवालाई निरन्तरता र बिस्तार दुवै गर्ने बताउनु भयो । उहाँले सरकारले सञ्चालन गरेको द्रुुत बसमा यात्रुहरुलाई कहाँ समस्या भयो ? कहाँ ट्राफिक समस्या भयो । सूर्यविनायक देखि रत्नपार्कसम्म आउने समय करिव दुई घण्टा लाग्छ यसलाई सबैभन्दा पहिला ४५ मिनेटमा झार्ने र अझै व्यवस्थित गर्दै गएर ३० मिनेटमा पुर्‍याउने योजना रहेको बताउनु भयो ।उहाँले सरकार धेरै चुनौतिहरुका बीचमा काम गरिरहे पनि बस सेवा सूर्यविनायकदेखि बनेपा धुलिखेलसम्म पनि बिस्तार गर्दै जाने पनि बताउनु भयो ।

त्यस्तै,नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले महासंघले सार्वजनिक यातायातलाई छुट्टै लेनको व्यवस्था हुनुपर्छ भन्ने धेरै लामो समय देखिको माग आज सम्बोधन भएको बताउनु भयो। उहाँले सरकारले सार्वजनिक यातायातलाई पहिलो पटक एम्बुलेन्सको प्राथमिकतामा राखेर कामको स्वागत गर्ने बताउनु भयो । उहाँले द्रुत बस सेवा सरकारले दीर्घकालिन रुपमा सञ्चालन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालन दुई दिनको मिडिया बाजीको लागि मात्रै सिमितता राख्न नहुने बताउनु भयो ।

उदघाटन पश्चात द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन् । यात्रुहरुका लागि भने असोज चार गते बिहीवारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुनेछ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्नेछ । द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

Skip This