काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा १४ औं तीज मेला सुरू भएको छ ।
बुधबारबाट सुरू भएको मेलामा तीज विशेष सामग्रीहरु प्रदर्शनमा राखिएका छन् । ‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित गर्दै बुधबारबाट तीज मेला सुरु भएको हो ।
बुधबारदेखि सुरू मेला १० गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनस्थलमा बोल्दै इभेण्ट एण्ड मार्केटिङका प्रवन्ध निर्देशक अनिश श्रेष्ठले मेलाबाट एक करोडौं रुपैयाँ कारोबार हुने लक्ष्य राखिएको बताउनुभयो ।
प्रवन्ध निर्देशक श्रेष्ठले यो भन्दा अगाडी २० हजार जनाले मेलाको अवलोकन गरेको भन्दै यस पटक ३० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो । मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिनेछ ।
प्रवन्ध निर्देशक श्रेष्ठले मेलामा बंगलादेश, इङ्ग्ल्याण्ड लगायतका देशका ७० वटा स्टल राखिएको बताउनुभयो । उहाँले यसअघि ४०/५० लाखसम्मको व्यापार हुने गरेकोमा यो पटक एक करोड रुपैयाँसम्म कारोवार हुने लक्ष्य लिएको बताउनुभयो । मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्