Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


प्याज किलोको ८५

भारतको निर्णयले महँगियो नेपाली भान्सा

1.7k
Shares

काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने घोषणा गरेसँगै नेपाली उपभोक्ताको भान्सा महँगिएको छ।

प्याजमा कर लगाउने भारतीय निर्णयको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो। भारतको वित्त मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्यात कर ४० प्रतिशत लगाउने घोषणा गरेको छ।

भारतीय घोषणासँगै आइतबार नेपाली बजारमा प्याजको भाउ किलोमै सरदर २५ रूपैयाँ बढेको छ। पुरानो खरिद भए पनि व्यापारीले भाउ बढाएका छन्।

नेपाली भान्सा भारतीय प्याजमा निर्भर रहेकाले कर लगाउने निर्णयले भाउ बढेको नेपाल आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए। ‘भारतले आफ्नो देशबाट निर्यात घटाउन ४० प्रतिशत निर्यात कर लगाएको छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर नेपालको बजारमा पर्न थालेको छ।’

भारतले प्याज उत्पादनमा कमी आएपछि निर्यात घटाउन कर लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आन्तरिक बजारलाई ध्यानमा राखेर भारतले निर्यातमा उच्च कर लगाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए। ‘आफ्ना उपभोक्तालाई प्याज अपुग हुने भएपछि निर्यात रोक्न भारतले कर लगायो,’ उनले भने, ‘मारमा नेपाली उभोक्ता परेका छन्।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।