Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


नियमावली नआउँदा सर्वसाधारणलाई सास्ती


8.3k
Shares

काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको दुई महिना बितिसक्दा पनि नियमावली नबन्दा नागरिकता ऐन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

ऐन आएको थाहा पाएर आमाको नाममा नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउनेहरू नियमावली नआएपछि नागरिकता नलिई फर्किनुपरेको छ। त्यसैगरी बाबु बेपत्ता भएका, पितृत्व र मातृत्व ठेगाना नभएका सन्तानले नागरिकता पाउन सकेका छैनन्। ऐन बनेपछि जन्मसिद्धका सन्तानले नागरिकता पाउनेबाहेक अन्य प्रकृतिको नागरिकता पाउन सकेका छैनन्।

नियमावली आएपछि आमाको नाममा नागरिकता लिन आउनु भनेर कार्यालयले फर्काउने गरेको सेवाग्राहीहरू बताउँछन्। ललितपुर महानगरपालिका १६ का ६५ वर्षीय रुकमणि महर्जनले नेपालमा नै जन्मिएर नेपालमा नै बस्दै आएका आफ्ना ३८ वर्षीय छोरालाई अझै पनि नागरिकता दिलाउन सकेको छैन।

भारतीय नागरिकसँग विवाह गरी नेपालमा बस्दै आएका रुकमणिको श्रीमान्को मृत्यु भएको १५ वर्ष भइसक्यो। बुबाको तर्फबाट नागरिकता नलिएका छोराले नागरिकता पाउने आशामा रुकमणि हरेक दिन वडा र जिल्ला प्रशासनमा धाउँदै आउनुभएको छ।

नियमावलीको मस्यौदाको विषयमा प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गर्दा साउनको दोस्रो सातासम्म नियमावली तयार भएर आउने गृह मन्त्रालयले जानकारी दिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नेपाल समाचारपत्रलाई बताउनुभयो।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।