Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


भारतको गौरीकुण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीमा समन्वय गर्न परराष्ट्रलाई गृहको पत्र


1.6k
Shares

काठमाडौं । गृह मन्त्रालयले भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गृहले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको भारतीय सञ्चारमाध्यमको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।

गृहले लेखेको पत्रमा भनिएको छ,‘भारतको हिमवाणी अनलाइन खबरमा केदारनाथ यात्रा मार्ग गौरीकुण्ड डाटपुलिया नजिक भएको बाढी पहिरोमा परी नेपालीहरूसमेत बेपत्ता भएको भन्ने समाचार प्रकाशित भएकाले निजको खोज तथा उद्धारको सम्बन्धमा भारत सरकारसँग आवश्यक समन्वय हुन आदेशअनुसार अनुरोध छ ।’

भारतीय सञ्चारमाध्यमले उक्त घटनामा ३ जनाको शव फेला परेको र बाँकी १५ जना बेपत्ता रहेको जनाएको छ । उक्त अनलाइनमा बेपत्ता रहेकामा १३ जना नेपाली नागरिक, ३ जना स्थानीय र बाँकी भारतको अन्य राज्यका मानिस भएको जनाएको छ ।

बेपत्ता हुने नेपालीहरुमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको थियो । दिल्लीस्थित नेपाली दूतावासबाट प्राप्त जानकारीअनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा पहिरोमा परेर हराएका छन् ।