Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


नौ किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति !


21.5k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ।

विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा विमानस्थल भन्सार कार्यालयले बरामद गरेको करिब नौ किलो सुन छाड्न र छाड्न नमिले लिलामी गर्न राहुल महराले दबाब दिएको उल्लेख छ। तर यस विषयमा उनीसँग सामान्य सोधपुछसमेत गरिएको छैन। अनुसन्धान प्रतिवेदनमा महरालाई प्रतिवादीसमेत बनाइएको छैन।

गत पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र सुन राखेर ल्याएका थिए। त्यतिबेल भन्सार विभागले ई–सिगरेटभित्र लुकाएर ल्याइएको सुन बरामद गरी चिनियाँ नागरिक लीलाई छाडिदिएको थियो। त्यसपछि उनी महरा बाबुछोराको सम्पर्कमा पुगेको ब्युरोको अनुसन्धानबाट पाइएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।