२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सरकारले भुक्तानी नगर्दा चेक बाउन्समा जेल जानुपर्ने अवस्था आएको निर्माण व्यवसायीको गुनासो


5.746k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको खुलासा गर्नु भएको छ ।

सचिव शर्माले राज्यको ढुकुटीमा पैसा भएर भन्दा पनि राजस्व, वैदेशिक ऋणमाथि भर परेर बजेट आउने गरेकाले भुक्तानी समयमै हुन नसकेको बताउनु भएको हो ।

मंगलबार काठमाडौंमा आयोजित ‘विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौति’ विषयक कार्यक्रममा उहाँले बजेट आफैँ घाटामा आउने गरेकाले विकास आयोजनाहरुका लागि सरकारले समयमै भुक्तानी गर्न नसकेको पनि स्पष्ट पार्नु भयो ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण निर्माण व्यवसायीहरु बाउन्स चेकको इस्यूमा जेल जानुपर्ने अवस्था आएको गुनासो गर्नु भएको थियो । त्यसको जवाफ दिने क्रममा सचिव शर्माले राज्यको ढुकुटीमा बजेट नभएका कारण भुक्तानीमा समस्या भएको बताउनुभयो ।

उहाँले अहिले पनि राजस्व र वैदेशिक ऋण प्रक्षेपण गरिएका अनुसार आउन नसकेका कारण विकास आयोजनाहरुको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताउनु भयो । सचिव शर्माले वैदेशिक ऋण ल्याउने काममा ढिलाई हुंदा विकास खर्च आर्थिक वर्षको अन्त्य जेठ, असारमा आएर मात्रै हुने गरेको समेत बताउनुभयो ।

महासंघका अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानी नगर्दा आफूहरुले विकास, निर्माणको कामलाई अघि बढाउन नसकेको गुनासो गर्नु भएको थियो । अध्यक्ष सिंहले सरकार आफैं विकास, निर्माणको काम अघि बढाउन गम्भिर नभएको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष सिंहले सरकारले समयमै भुक्तानी नगरेकै कारण कतिपय निर्माण व्यवसायीहरु साईट पनि जान नसक्ने, अफिसमा पनि जान नसक्ने अवस्थामा पुगेको स्मरण गराउनुभयो ।