Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सर्पदंशबाट बैशाखयता नौजनाको मृत्यु


741
Shares

काठमाडौं । वर्षा तथा गर्मीसँगै सर्पदंशको प्रकोप बढेको छ।

सर्पदंशका कारण हालसम्म नौजनाको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको हो। महाशाखाका अनुसार बैशाखयता सुरु भएको सर्पदंशका कारण नौ जनाको मृत्यु भइसकेको छ। सर्पदंशकै कारण नेपालमा हरेक वर्ष औसत १५ देखि २० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

काठमाडौंस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हालसम्म १ सय ५० जना उपचारका लागि पुगेका छन्। मंगलबारसम्ममा १५ जना भर्ना भई उपचारमा छन्।

पछिल्ला दिनमा सर्पदंश बढेर दैनिक १० देखि १५ जना उपचारका लागि आउने गरेको अस्पतालकी निर्देशक डा.मनीषा रावलले बताइन्। सर्पको टोकाइका लागि अनुकूल मौसम थप दुईदेखि अढाइ महिना बाँकी रहेकाले यसको टोकाइबाट बच्न जुनोटिक तथा सरुवा रोग शाखाले अनुरोध गरेको छ।

‘थप दुईदेखि अढाइ महिना सर्पको प्रकोप बढ्ने मौसम छ, सबै जना सचेत भएर बस्नुपर्छ,’ जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझाले भने। नेपालमा बर्सेनि औसत १ हजार जना सर्पको टोकाइमा पर्ने गरेको जुनोटिक शाखाको तथ्यांक छ। तीमध्ये १५ देखि २० जनाको मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ।

सर्पले टोकेका र टोकाइबाट मृत्यु भएकाहरूको यकिन तथ्यांक रिपोर्टिङ नहुनाले सर्पको टोकाइमा पर्नेहरूको यकिन तथ्यांक नभएको जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझा बताउँछन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।