Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कर्णाली छिचोल्न दुई किलोमिटर बाँकी


6.9k
Shares

सुर्खेत । कर्णाली समृद्धि मार्गका रूपमा हेरिएको कर्णाली करिडोर ट्र्याक खुल्न साढे दुई किलोमिटर बाँकी छ।

नेपाली सेनाले हुम्लाको स्याल्तडीदेखि लालीबगरसम्मको ११ किलोमिटर खण्डमा काम गरिरहेको छ। सेनाले ११ मध्ये साढे आठ किलोमिटर कडा चट्टान फोडेर सडक निर्माण गरिसकेको छ।

बाँकी साढे दुई किलोमिटर ट्र्याक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थल मार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिनेछ। सेनाले काम गरिरहेको अहिलेको खण्डमा भौतिक प्रगति ७० प्रतिशत छ। असार मसान्तसम्म अझै भौतिक प्रगति बढ्नेछ।

आउने दसैंसम्म सडक छिचोल्ने लक्ष्य सेनाको छ। ‘अब आगामी आर्थिक वर्षमा बाँकी रहेको साढे दुई किलोमिटर कडा चट्टान छिचोल्छौं,’नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अनुप पोखरेलले भने, ‘लक्ष्यभन्दा राम्रो प्रगति भइरहेकाले सरकारले दिएको समयअगावै ट्र्याक खुल्ने सम्भावना छ।’

कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ। सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।