Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


काठमा उतार्दै चिडियाखानाभित्र जनावरका आकृति


2.9k
Shares

काठमाडौं । सामान्य मानिसले देखेको काठको मुढो, बेढंगको चट्टानमा कलाकारले भने सृजना देखेको हुन्छ । उसको यो दृष्टि यत्र, तत्र, सर्वत्र छरिएको हुन्छ । जावलाखेलमा ढलेका लडेका काठको मुढाभित्र कलाकारले सुन्दर सिर्जना कुँदिरहेका छन् । जुन कला चिडियाखाना अवकलोकनका लागि आउने दर्शकका लागि अर्को स्वाद बनेको छ ।

सदर चिडियाखाना नेपालको सबै भन्दा पुरानोएक मात्र चिडियाखाना हो । ललितपुर जिल्लाको जाउलाखेलमातत्कालिन प्रधानमन्त्री जुद्ध शमसेर राणाले निजि चिडियाखानाको रूपमा स्थापना गरेको सदर चिडियाखाना हाल राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन र व्यवस्थापनगर्दै आइरहेको छ । १२० रोपनी क्षेत्रफलमा फैलिएको यस चिडियाखानामा प्रत्यक्ष रूपमा आफूले नदेखेका जंगली जनावर, पशुपन्छी, सरिसृप र जलचरहरू हेर्न र देख्न पाईछ ।

दुर्लभ वन्यजन्तुमध्ये ११३ प्रजातिहरूलाई यहाँ संरक्षण गरी राखिएको छ । यहाँ रहेका जनाबर मध्य सबैभन्दा बुढो जनावर हात्ती हो भने चिम्पान्जी, बाघ र गैंडा लगायत चिडियाखानाको आर्कषण हो । बालबालिका, युवा र बृद्धबृद्धा जोकोही पनि यहाँ रमाउछन् ।

अब ऐतिहासिक र सांस्कृतिक महत्वको यो स्थलमा जंगली जनावर र पशुपन्छीको अवलोकनको लागि मात्र होईन जनावरको काष्ठकलाको लागि पनि उपयुक्त स्थल हुने भएको छ । यहाँ कलाकारको हृदय ब्यूँझिएर फ्याकिएको काठको गोलामा समेत सृजना आरम्भ भएको छ ।

चिडियाखाना भित्र रहेको विभिन्न जातको रुख बुढो भएपछि काटेको गोला र विभिन्न कारणले ढलेको काठको मुढामा कलाकारहरुले विभिन्न जनावरहरुको आकृति कुँदिरहेका छन् ।

अहिले काठमा हात्ती, गोही, कछुवा, उल्लु र डलफिन लगायतका आकृती बनिसकेको छ । लोप भईसकेको मौलिक ज्यावल ‘बसिला’ प्रयोग गरेर कलाकारहरुले जनावरको आकृति कुँदिरहेका छन । मूर्तिकार विभुषण ताम्राकार फ्याकिएको काठको गोला पनि श्रमदान गरेर सृजना गरिरहेको बताउनु हुन्छ । यो कला सृजना युवाको लागि प्रेरणाको स्रोत भएको बताउनु हुन्छ कलाकार विपुल प्रजापति ।

कलाकार राजन मर्हजनले कसैको आर्थिक सहयोग विना स्वस्र्फुत रुपमा कला सृजना गरिरहेको भन्दै भविष्यमा सहयोग प्राप्त भए यहाँ त्यसै रहेका सबै काठको मूढामा जनावरको आकृति रहेको काष्ठकला प्रर्वद्धन गर्न सकिने बताउनुहुन्छ ।

सम्बन्धित निकायले खेर गईरहेको काठको गोलामा कलासृजना गर्न आवश्यक सहयोग गर्ने हो भने चिडियाखानालाई पशुपन्छीको कलाकृतिकला अनुरागीहरुको गन्तव्य स्थलको रुपमा विकास पनि गर्न सकिन्छ ।