Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


‘दुलाल र भण्डारी नाइके होइनन्, पीडित हुन्’

शरणार्थी प्रकरणमा थुनछेक बहस

3.4k
Shares

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दामा संलग्न गिरोहका नाइके भनिएका केशव दुलाल र सानु भण्डारी स्वयं पीडित रहेको दाबी उनीहरूका वकिलले गरेका छन्।

शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा भण्डारी, दुलालसहित ३० जनाविरुद्ध दायर मुद्दामा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस चलिरहेको छ।

इजलासमा बुधबारदेखि प्रतिवादीका तर्फबाट प्रतिरक्षा बहस सुरु भएको छ। प्रतिवादी दुलाल र भण्डारीका निजी वकिलले उनीहरू ठगीमा संलग्न भएको आरोपमा सत्यता नभएको दाबी गर्दै उल्टै पीडित रहेको दलिल पेस गरे।

‘केशव दुलाललाई कारबाही हुन्छ भने ठगीमा होइन, भुटानी शरणार्थी बनेर अमेरिका जान खोजेको कसुरमा गर्नुपर्छ,’दुलालको पक्षबाट प्रतिरक्षा बहस गर्दै वरिष्ठ अधिवक्ता विश्वास आचार्यले भने, ‘ठगी कार्यमा उनको कुनै संलग्नता छैन।’ यो प्रकरणमा दुलालले कसैसँग रकम नलिएको दाबी गर्दै आचार्यले भने, ‘सन्देश शर्माबाहेक बयानमा कसैले पनि केशव दुलाललाई पोलेका छैनन्। उनले कसैलाई ठगेर रकम लिएको प्रमाण पनि छैन। जाहेरीमा नाममात्रै उल्लेख छ।’

यस्तै, अधिवक्ता आचार्यले दुलालले कुनै कागज किर्ते नगरेको दाबी गर्दै दबाबका आधारमा सरकारी कागजात किर्तेमा मुद्दा चलाइएको बताए। ‘गृह मन्त्रालयका कागजमा कहाँ एक्सेस छ उनलाई ? एक्सेस नै नभएको मानिसले कसरी सरकारी कागजात किर्ते गर्नसक्छ ?’ उनले भने।

आचार्यले भुटानी शरणार्थी प्रकरण संगठित अपराध हो भने आपराधिक समूहको नाम र संस्थापक को हो भन्ने अभियोजनपत्रमा नखुलेको दाबी गरे।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।