३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


निर्मला हत्या प्रकरणः यसरी हुँदैछ तीन तहबाट अनुसन्धान


0
Shares

शेरबहादुर सिंह (रासस)

भीमदत्तनगर, भदौ २० । कन्चनपुरको भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणबारे तीन तहबाट सूक्ष्म अनुसन्धान भइरहेको छ ।

गत साउन १० गते बलात्कार गरी बालिका पन्तको हत्या गरिएको थियो ।

हत्याका सम्बन्धमा गृह मन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालयले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

घटनाको छानबिनका लागि केही साताअघि भीमदत्तनगर आइपुगेको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान तीव्ररुपमा अगाडि बढाइरहेको छ ।

‘अनुसन्धानकार्य अन्तिम चरणमा पुगेको छ’–सहसचिव मैनालीले भने–‘अब प्रतिवेदन लेख्ने काम सुरु भएको छ ।’

त्यस्तै, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पनि आफ्नै ढंगबाट अनुसन्धान गरिरहेको छ ।

सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय कन्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टको टोलीले घटनामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९, बाँगफाटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई गत भदौ ४ गते सार्वजनिक गरेको थियो ।

तर, स्थानीयवासीले अभियुक्त विष्टमा मानसिक रोगको समस्या भएको भन्दै प्रहरीले घटनामा संलग्न हत्यारालाई बचाउन उनलाई सार्वजनिक गरिएको दाबी गर्दै आन्दोलन झन् चर्काएका थिए ।

गत आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा तीन सदस्यीय टोली भीमदत्तनगर पुगेर घटनाबारे सूक्ष्म अध्ययन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले घटनाको प्रारम्भदेखि नै सूक्ष्मरुपमा अनुसन्धान भइरहेको बताए ।

‘यो दौड होइन । अनुसन्धान भएकाले केही समय लाग्नसक्छ’–उनले भने–‘हामीलाई सहयोग गर्न ब्यूरोबाट पनि नयाँ टोली यहाँ आएको छ ।’

निर्मला हत्याकान्डका अपराधी उम्किनै नसक्ने बताउँदै उनले ‘प्रहरी र स्थानीयवासीबीच सूचना प्रवाहको वातावरण बन्न आवश्यक छ’–भने ।

‘पछिल्लो समयमा घटना छानबिनमा नागरिकसँगको सहकार्य राम्रो हुँदै गएको छ’–प्रहरी उपरीक्षक कडायतले भने–‘घटनाको विषयमा धेरै कोणबाट अनुसन्धान हुँदैछ ।’

निर्मला गृहकार्य गर्न गएको रोशनी बमको घरबाट पनि अनुसन्धान भइरहेको छ । प्रहरीले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ ।

प्रहरी स्रोतकाअनुसार बम दिदी–बहिनीले घटनाबारे कुनै जानकारी नभएको बयान दिइरहेका छन् ।

त्यसैगरी, बमसितनिकट भनिएका भीमदत्तनगरका आयुश विष्ट र किरन विष्टलाईसमेत प्रहरीले सोधपुछ गरिरहेको जनाइएको छ ।

प्रहरीले गत सोमबार निर्मलाका दिदी मनीषा पन्त र रोशनी बमलाई संयुक्तरुपमा राखेर पनि बयान लिएको थियो ।

प्रहरीको उक्त दोहोरो बयानकाक्रममा रोशनीले घटनाबारे अनविज्ञता जनाएपनि बयान भने विगतकोभन्दा फेरिएको मनीषाले राससलाई बताइन् ।

‘यसअघि गरेको बयानमा रोशनीले बहिनी निर्मला मेरो घरबाट भागी बुवाको डेरामा जान्छु, चार/पाँच दिन उतै बस्छु भनेर निस्केको भनेकी छन्’–मनीषाले भनिन्–‘तर आजको बयानमा उनले निर्मला घरबाट निस्केको र च्यानल गेट बाहिरबाट कता लाग्यो, थाहा नभएको बताइन् ।’

‘स्कुलमा बोल्न नि लजाउने रोशनी अहिले त निकै कडारुपमा प्रस्तुत् हुँदैछ’–उनी भनिन्–‘बम परिवार र उनकै सम्बन्ध भएकामाथि गहन अनुसन्धान गरे हत्यारा पत्ता लाग्न सक्छन् ।’

यसअघि, पक्राउ गरिएका दिलीपसिंह विष्टलाई भने प्रहरीले उनको मानसिक जाँचलगायत उपचारका लागि भन्दै काठमाडौं पुर्‍याएको छ ।