Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


बर्दियाका विद्यार्थीहरु पढाईसँगै कृषिमा आकर्षित


1.8k
Shares

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त हुन थालेका छन् ।

राजापुर–४ स्थित अमरशहिद श्री दशरथ चन्द माध्यामिक विद्यालयका विद्यार्थीहरुले पढाईसँगै करेसाबारीमा खेतीसमेत गर्न थालेका हुन् ।

विद्यार्थीले ३ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका छन् । विद्यालय हातासँगै गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणाका साथै आधुनिक कृषि कर्म गर्ने र अभिभावकलाई यसबाट फाइदा पुग्ने शिक्षकको विश्वास छ ।

करेसाबारीमा फलाएका लौका, करेला, बोडी र भिन्डी लगायतका तरकारी विद्यार्थीहरुले नै मंगलबार र शनिबार लाग्ने हाटबजारमा बिक्री गर्दे आएका छन् । उनीहरुले बिक्रि गरेवापत आएको रकम समुह बनाएर बचत गर्दे आएका छन् । समुहमा गरेको बचतले उनीहरुलार्ई किताब कापी र पोसाक किन्न समेत सहज भएको छ ।

आफुहरुले पहिले बारीमा काम गर्न चासो नदिएको र अब भने घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउने विद्यार्थीहरुको भनाई छ ।

कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन यो कार्य प्रभावकारी हुने विद्याथीहरुको बुझाइ छ । नयाँ अभ्यास अभिभावकलाई पनि सिकाइने विद्यार्थी अनिता वैद्यको भनाई छ ।

नगरपालिकाको एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी गरेर विद्यार्थीहरुलाई सैद्धान्तीक तथा प्रयोगात्मक विधिवाट सिकाइरहेको भन्दै करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई कृषिसम्बन्धी जानकारी पाउन सहज हुनुका साथै आय आर्जन समेत भैरहेको विद्यालयका शिक्षक मान वहादुर चौधरी बताउनुहुन्छ ।

देशलाई कृषीतर्फ आत्म निर्भर बनाउन विभिन्न खाले प्रयत्न भइरहँदा यस्ता कार्यक्रमहरु थप प्रभावकारी बन्ने विश्वास गरिएको छ । यसमा स्थानिय निकायले खुलेर लगानी गर्न सक्नुपर्छ ।