
अपडेट:
काठमाडौं, भदौ २० । जापानमा आएको २५ वर्षयताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आँधीमा परेर ३०० भन्दा बढी घाइते भएका छन् ।
‘जेबी’ नाम दिइएको समुद्री आँधी जापानको दक्षिण क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो ।
१७२ किलोमिटर प्रतिघन्टाको बेगमा आएको आँधीसँगै भीषण वर्षा पनि भएको छ ।
आँधी प्रभावित क्षेत्रका १० लाखभन्दा बढी मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान अधिकारीहरुले आग्रह गरेका छन् ।
शिकोकु टापुबाट सुरु भएको आँधी जापानकै ठूलो होन्सु टापुमा पुगेर फैलिएको थियो । अधिकारीहरुले ठूलो समुद्री छाल, डुबान र पहिरोको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।
आँधीका कारण हजारौं घरहरुमा विद्युत् आपूर्ति बन्दभएको छ । ठूलो भौतिक सम्पत्तिमा क्षति भएको छ । आँधीका कारण सयौं हवाई सेवा, रेल तथा डुंगा सेवा रद्द गरिएका छन् ।
ओसाकाको कान्साई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत डुबानमा परेको छ ।
जापानमा सन् १९९३ मा आएको शक्तिशाली आँधीमा परेर ४८ जनाको मृत्यु भएको थियो । यो आँधी त्यसयताकै सबैभन्दा शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्