Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


१६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र दिने धितोपत्र बोर्डको निर्णय


221
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ ।

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो ।

आशय पत्र पाएका १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पूर्वाधार निर्माण गरिसक्नुपर्ने छ । त्यसपछि मापदण्ड पूरा गरी पूर्वाधार निर्माण गरेकालाई अनुमति पत्र (लाइसेन्स) दिने बोर्डले जनाएको छ ।

आसयपत्र पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकी १४ वटा भने सीमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् । आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केटसहित हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज रहेका छन् ।

धितोपत्र बोर्डले गत असोज २ गते धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्ड लाइसेन्सलाई ‘ओपन इन्ट्री ओपन एक्जिट’ को व्यवस्थासहित नियमावली संशोधन गरेर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

आवेदन दिने ३० दिनको अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो । बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सको लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड तोकेको छ । त्यस्तै पूर्ण कारोबार गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ तोकेको हो ।

Skip This