Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


महाकाली नदीमा बनेको पक्की पुल सञ्चालन


416
Shares

काठमाडाैं । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको पक्की पुल सञ्चालनमा आएको छ ।

एक महिनादेखि बन्द रहेको पुल शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेले जानकारी दिनुभयो ।

“पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले एक महिना आवतजावत बन्द गरिएको थियो, पर्खाल निर्माण सम्पन्न भएपछि पुल पुनःसञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो, “अब पुल भएर दोधारा चाँदनी सहजरूपमा आवतजावत गर्न सकिन्छ ।”

गत चैतदेखि पुल बन्द भएपछि दोधारा चाँदनीतर्फ आवतजावतमा समस्या भएको थियो । दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले पुल सञ्चालन नहुँदा दोधारा चाँदनी आवतजावत गर्न ठूला–साना सवारीसाधन भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

“शुक्रबारदेखि पुल सञ्चालनमा आएपछि दोधारा चाँदनी–महेन्द्रनगर आवतजावतमा सहज भएको छ”, उहाँले भन्नुभयो, “अब चारपाङ्ग्रे सवारीका लागि भारतीय बाटो जानुपर्ने बाध्यता हटेको छ ।”

महाकाली नदीमा पुल निर्माणको काम सम्पन्न भए पनि पुलको दायाँबाया पोखरी निमार्णको काम भइरहेको पुल योजना कार्यालयले जनाएको छ । पुलको डिजाइनअनुसार दुवैतर्फ छ सय मिटर चौडा र दुई हजार छ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ ।

महाकालीमा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि दोधारा चाँदनीबासीलाई महेन्द्रनगर सदरमुकाम ओहोरदोहोर गर्न सहज भएको छ ।