
दाङ । दाङमा आफ्नै श्रीमती हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हाे । आइतबार प्रहरी कार्यालय घोराही दाङमा पत्रकार सम्मेलन गरेर यस्ताे जानकारी गराएकाे हाे ।
प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार केसीलाई गत शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उपमहानगरपालिका-३ भवानपुर नजिकै लुकिछिपि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका केसीले यहि वैशाख १ गते राति १० बजेको समयमा आफ्नी ४० वर्षीय श्रीमती शारदा कुमारी केसीको हत्या गरी घर नजिकै बारीमा पुरेका थिए ।
गत बुधबार दिउँसो १ बजेतिर घोराही केसीको घर अगाडि महिलाको लाश गाडेको अवस्थामा (खुट्टाको पैताला र हल्का कपडा देखिएको) भन्ने खबर प्राप्त हुन साथ जिप्रका दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमसहित अनुसन्धान टोली खटेको थियो । घटनापछि केसी फरार रहेका थिए ।
तत्काल घटनाको प्रकृति, बरामद भएका प्रमाण, स्थानीयहरूको भनाइ तथा प्रारम्भिक अवस्थामा प्रविधिको प्रयोग सीडीआर एनालाइसिस एवं घटना स्थलको प्रकृति हेर्दा उनका श्रीमानले हत्या गरी फरार रहेको देखिएको थियाे । त्यसपछि उनलाई खोजतलास गरेर पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।
सोधपुछका क्रममा केसीले श्रीमतीसँग विवाद हुँदा आफूले मुक्का र अन्य चिजबाट हत्या गरी बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताउनुभयाे । केसी वन जंगलमा लुक्दै छिप्दै व्यक्तिगत सरसामान समेत साथमा बोकेर भारत जाने तयारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे हाे ।
केसी माथि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्