Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


वन डढेलोबाट ओखलढुंगा सदरमुकाम जोखिममा


234
Shares

ओखलढुंगा । बकुन्दे सामुदायिक वन र तामखोर वनमा लागेको डढेलो ५ दिनदेखि नियन्त्रणमा नआउँदा ओखलढुंगा सदरमुकाम जोखिममा परेको छ । ज्यामिरेबाट सदरमुकाम क्षेत्रको वनमा प्रवेश गरेको आगो नियन्त्रणमा आउन नसकेको हो ।

अहिले ओखलढुंगा सदरमुकामभन्दा करिब एक किलोमिटर क्षेत्रको वनमा चारैतर्फ आगो सल्किएको छ । वनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयलगायतले प्रयास गरे पनि हावाहुरीका कारण नियन्त्रणमा लिन असम्भव भएको सिद्धिचरण नरपालिका वडा नं ११ का वडाध्यक्ष विनोद ताम्राकारले बताउनुभयो ।

सिद्धिचरण नगरपालिकाको दमकलबाट पानी छिट्ने काम भए पनि डढेलो नियन्त्रण भएको छैन । डढेलो झन् फैलन थालेपछि आजबाट सदरमुकाम क्षेत्रको वनमा पात पतिंगर सोहोर्ने, जोखिम रुख काट्नेलगायतका काम थालिएको छ ।

सामुदायिक वनसँगै सदरमुकामको अधिकांश क्षेत्र जोडिएको हुनाले पनि जिल्लाको सबै संयन्त्र यही क्षेत्रमा केन्द्रित भएको छ ।