५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


श्रेष्ठ रास्वपाबाट बर्खास्त


78
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बुधबार बसेको बैठकले अडियोमा भएको आवाज श्रेष्ठकै रहेको ठहर गर्दै उनलाई पार्टीबाट निष्कासन गरेको हो। उनलाई प्रतिनिधिसभा सदस्य पदबाट पनि हटाउने प्रक्रिया थाल्ने निर्णय भएको रास्वपाले जनाएको छ।

‘त्यो कुराकानी उहाँ (ढाकाकुमार श्रेष्ठ) ले नै गर्नुभएको हो। त्यसमा पैसा मागिएको छ,’ केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, ‘एउटा सांसदजस्तो सार्वजनिक व्यक्तिले त्यसरी पैसा माग्नु नै गलत हो। हामी जुन विधानमा बसेका छौं, त्यसले शून्य सहनशीलता मान्छ। कारबाही गर्न यथेष्ट प्रमाण छन्।’

श्रेष्ठलाई पार्टीभित्र पुनरावेदन गर्ने अवसर भने रहेको सभापति लामिछानेले बताए। ‘उहाँले चाहे पार्टीभित्रै पुनरावेदन गर्न सक्नुहुन्छ। पार्टीमा पुनरावेदन समिति छ, सो समितिको निर्णयमा सभापतिको चित्त बुझे पार्टीमा फर्किने अवसर छ,’ उनले भने। सांसद श्रेष्ठ अदालतबाट सफाइ पाएर आए पनि पार्टीमा फर्किन सक्ने उनले बताए। लामिछानेले भने, ‘अधिकार सम्पन्न निकाय र सम्मानित अदालतबाट ‘क्लिन चिट’ लिएर आए पार्टी विधान अनुसार निर्णय गर्न सकिन्छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।