Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


फ्रेन्च राष्ट्रपति म्याक्रों र इयु प्रमुख लेनले आज चीनका राष्ट्रपतिलाई भेट्दै


377
Shares

एजेन्सी । चीन भ्रमणमा रहनुभएका फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों र युरोपेली युनियनकी प्रमुख उर्सुला भोन्डर लेनले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दै हुनुहुन्छ ।

रुस–युक्रेन युद्धले समग्र विश्वलाई प्रभाव पारिरहेको बेला म्याक्रों र लेनको बेइजिङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । व्यक्तिगत सम्बन्धनलाई आधार मानेर हेर्ने हो भने फ्रेन्च राष्ट्रपति म्याक्रों रुस र चीन दुवै देशका शीर्ष नेतासँग अन्य पश्चिमा नेताहरुभन्दा नरम नीति राख्नुहुन्छ ।

तर, यसको विपरित युरोपेली युनियनकी प्रमुख लेन भने नेटो र अमेरिकाको कट्टर समर्थक हुनुहुन्छ । म्याक्रो र लेनको संयुक्त यात्रा चीन र युरोपको सम्भावित नयाँ सम्बन्धको सूचक रहेको अनुमान गरिएको छ ।

गत महिना चिनियाँ राष्ट्रपति जिनपिङको मस्को भ्रमणको क्रममा प्रस्ताव गरिएको द्वन्द्व अन्त्यको प्रस्तावलाई फ्रेन्च राष्ट्रपतिले सकारात्मक रुपमा लिएको बताउनुभएको थियो । बिहीबारको भेटमा पनि द्वन्द्व अन्त्यकै प्रस्तावमाथि छलफल हुने अनुमान गरिएको छ ।

यसअघि जर्मन चान्सलर ओलाफ स्कोल्ज र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि चीन भ्रमण गर्नुभएको थियो ।