
इलाम । पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।
नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथन आयोजना गरिन लागेको हो । पुरुषतर्फको म्याराथन विजेताले अढाई लाख तथा महिलाको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।
इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिँदैछ । ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नगरपालिका–१०, गोदकको नारायण चोकदेखि माइपोखरीको सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्ने भएकाे छ ।
इलाम नगरपालिकाका मेयर केदार थापाले इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रिस्तरमा परिचित र चलायमान गराउन प्रतियोगिताले सघाउने बताउनुभयो । प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावकहरू आउने आशा आयोजकले गरेको छ ।
प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले चैत मसान्तसम्ममा आयोजकसँग सम्पर्क गर्नुपर्नेछ । पुरुष म्याराथुको दूरी पार गर्न ४ घण्टा १० मिनेट र महिलाका लागि २ घण्टा ५ मिनेट समय निर्धारण गरिएको छ । पुरुषतर्फ दोस्रो हुनेले डेढ लाख, तेस्रोले १ लाख, चौथोले ५० हजार, पाँचौंले ४० हजार, छैटौंले ३५ हजार सातौंले २५ हजार, आठौंले २० हजार, नवौंले १५ हजार र १०औं हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने भउका छन्।
महिलातर्फको म्याराथनमा दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार र पाँचौंले १० हजार नगद पुरस्कार पाउने भएका छन् । प्रतियोगितामा १५ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताका लागि इलाम नगर, सन्दकपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न संघ–संस्थाबाट यो रकम संकलन गरिने आयोजकले जनाएको छ ।
यो म्याराथनले इलाम र सन्दकपुरसहित जिल्लाको खेलकुद र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्