Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भू-राजनीतिक र शक्ति राष्ट्रको सामरिक सामर्थ्यको वृद्धिसँगै सुरक्षा चुनौती बढ्याे: प्रधानमन्त्री दाहाल


104
Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू–राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढी रहेको बताउनुभएको छ।

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।प्रधानमन्त्री दाहालले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुन सक्ने खतरा औंल्याउनुभएको हो । वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उहाँकाे भनाइ थियाे ।

देशको भू–राजनीतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव परिरहेको बताउनुभयो । उहाँले राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौती विद्यमान रहेको टिप्पणी गर्नुभयो ।

यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयाे । प्रधानमन्त्री दाहालले राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनु पर्ने बताउनुभयाे । समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।

परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्यांकन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी रहेको उहाँले बताउनुभयो ।