Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


मिटरब्याज पीडित काठमाडौंमा


130
Shares

काठमाडौं । सरकारसँग न्यायको माग गर्दै आठ जिल्लाका मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका छन्।

११ दिन पैदलयात्रा गरेर आइतबार राजधानी आइपुगेका हुन्। चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका पीडितहरू चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरि हुँदै काठमाडौं आइपुगेका सिरहाको औरही–४ का पीडित मनोज पासवानले बताए। उनका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, झापा र खोटाङ जिल्लाका ७२ जना पीडितहरू काठमाडौं आइपुगेका हुन्।

‘हामी ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छौं,’ पासवानले भने, ‘आज (आइतबार) मातातीर्थमा बास बसेका छौं। भोलि ९सोमबार० यहीँबाट माइतीघरमा गएर आन्दोलन गर्छौं।’ आफ्नो माग पूरा नभएसम्म नफर्किने उनले बताए। मिटरब्याज पीडितहरूले तमसुक खारेजी, सुदखोरले हडपेको र बढी असुल गरेर लिएको सम्पत्ति फिर्ता र सुदखोरमाथि कारबाही गरी उनीहरूको अवैध सम्पत्ति छानबिन गर्नुपर्ने माग अघि सारेका छन्।

यसबाहेक अन्य थप मुद्दाका विषयमा पनि छलफल भइरहेको पीडित पासवानले बताए। ‘अझै छलफलमा छौं। केही जिल्लाबाट पनि पीडित साथीहरू आउँदैछन्। सबैसँग छलफल गरेर अघि बढ्छौं,’ उनले भने। उता नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का मिटर ब्याज पीडितहरू पनि चैत २० गतेसम्म काठमाडौं आइपुग्ने उनले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।