Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


उडिरहेको भारतीय विमानमा यात्रुको मृत्यु, पाकिस्तानमा आकस्मिक अवतरण


3.5k
Shares

एजेन्सी । उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ।

दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो।

मृतक नाइजिरियाका नागरिक भएको बताइएको छ।

विमानचालकले ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले जनाएको छ।

भारत र पाकिस्तानबीच प्रत्यक्ष हवाई उडान छैन।

कटु सम्बन्ध
भारत र पाकिस्तानबीच कटु सम्बन्ध छ। सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान भारतबाट विभाजित भएको थियो। त्यसपछि ती दुईबीच तीन पटक युद्ध भइसकेको छ।

सन् २०१९ को जुलाईमा पाकिस्तानले गैरसैनिक उडानहरूका लागि पुनः आफ्नो हवाईक्षेत्र पूरा खोलिदिएको थियो।

भारतसँग तनाव चर्किएपछि पाँच महिनाका लागि पाकिस्तानले आफ्नो आकाशमा विमान उडाउन निषेध गरिदिएको थियो।

चार घण्टापछि दोहा उड्यो विमान
इन्डिगोको उक्त विमानमा १६३ यात्रुहरू थिए।

सोमवार मध्यराततिर उक्त विमानले जिन्ना टर्मिनल इन्टरन्याश्नल एअरपोर्टमा अवतरण गरेको थियो।

पाकिस्तानको नागरिक उड्डयन निकायका अनुसार उडिरहेको विमानमा ६० वर्षे यात्रुले निकै असहज महसुस गरेपछि विमानचालकले कराचीको एअरट्राफिक कन्ट्रोललाई सम्पर्क गरेर चिकित्सक र एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेका थिए।

कराचीमा परीक्षण गर्दा विमानस्थलको मेडिकल टोलीले अकस्मात् बिरामी परेका ती यात्रु जीवित नरहेको घोषणा गर्‍यो।

कराचीबाट चार घण्टापछि विमान आफ्नो गन्तव्यतिर फेरि उड्यो।

इन्डिगोले एउटा विज्ञप्ति जारी गर्दै विमानमा यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ। याे समाचार बीबीसी नेपालीबाट सभार गरिएकाे हाे ।

Skip This