Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कार्यपालिका र व्यवस्थापिकामाथि न्यायपालिकाको हस्तक्षेप, सोचे जस्तो काम गर्न सकिएन: सभामुख


130
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले न्यायालयका कारण कार्यपालिका र व्यवस्थापिकाले सोचे जस्तो काम गर्न नसकेको बताउनुभएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकामाथि बेलाबेलामा हस्तक्षेप गरेका कारण यस्तो अवस्था आएको बताउनुभएको हो ।

सभामुख घिमिरेले कतिपय कुराहरू न्यायपालिकामा गएर पनि काममा अवरोध खडा गर्ने गरेको बताउँदै उहाँले कार्यपालिका र व्यवस्थापिकाबीचमा समन्वय हुन नसकेको बताउनुभयो । उहाँले ऐन, कानुन कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन नसक्दा हिजोका विभिन्न द्वन्द्वको मारमा परेका व्यक्तिहरूले अझैसम्म न्याय पाउन नसकेको बताउनुभयो ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सरकार नै उदासीन भएका कारण समस्या समाधान हुन नसकेको उहाँको भनाइ थियो । सभामुख घिमिरेले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिन ढिलाइ गर्ने गरेका कारण यो प्रक्रिया प्राथमितामा पर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सरकारले गठन गरेको सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगले समयमा नै काम पूरा नगर्दा म्याद सकिने अवस्थामा पुगेको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।