काठमाडौं । चितवन क्षेत्र-२ मा आगामी वैशाख १० गते आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रमा रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागिएको हो । निर्वाचन आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचन गर्ने गरी मिति तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आयोगले सो निर्णय गरेको थियो ।
चितवन क्षेत्र नं २ बाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादको विषयमा सर्वोच्च अदालतले सांसदबाट पदमुक्त गर्ने फैसला माघ १३ गते गरेको थियो । संघीय संसद्ले लामिछानेको प्रतिनिधि सभा सदस्य पद नेपालको संविधानको धारा ८९ को ९ख० बमोजिम रिक्त भएको भनी आयोगमा जानकारी प्राप्त भएको थियो । नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने भनिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था गरिएको छ । सोही संवैधानिक र कानुनी प्रावधान अनुरुप उपनिर्वाचनको मिति तोकिएको प्रवक्ता पौडेलले बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्