Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


अलपत्र महिला लिग

जिम्मेवार हुन सकेन एन्फा

52
Shares

काठमाडाैं । नेपाली फुटबलको बागडोर सम्हालेर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वार्थलिप्त नहुँदो हो त राष्ट्रिय महिला लिग सम्पन्न भएर नयाँ लिगको मिति घोषणा भइसकेको हुने थियो। तर विडम्बना गत चैतमा चितवनमा पहिलो चरणको लिग समापन गर्दै वैशाखमा विराटनगमा दोस्रो चरणको लिग घोषणा गरेको एन्फा आफ्नो निर्णयमा अडिग रहेन। तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आआफ्नो प्यानल बनाएर असारमा तय चुनावी साधरणसभामा होमिँदा महिला लिग अलपत्र बन्यो।

असारमा पूर्वअध्यक्ष गणेश थापाको आशीर्वाद प्राप्त नेम्बाङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भए। नेपाली फुटबलमा ठूलै छलाङ मार्ने दाबी गरेको नेम्बाङको आगमनले पनि महिला फुटबललाई न्याय प्रदान गर्न सकेन। उनको कार्यसमिति लिगको दोस्रो चरणको आयोजना गर्नबाट पछि हट्यो। कार्यसमिति बैठकले नै महिला लिगको दोस्रो चरणको मिति घोषणा गर्ने निर्णय भए पनि अहिलेसम्म मिति घोषणा भएको छैन।

यसबीच नेपाली महिला फुटबल टोली असोज पहिलो साता काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बन्यो। सेमिफाइनलमा नेपालले भारतसँगको शृंखलाबद्ध हारमा पूर्णविराम लगाएको थियो। तर फाइनलमा बंगलादेशलाई नतिजा सुम्पियो। केही महिनाअघि मात्रै नेपालले बंगलादेशमा सम्पन्न साफ महिला यु–१५ च्याम्पियनसिपको उपाधि जित्यो भने बिहीबार बंगलादेशमै सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बन्यो। नेपाली सिनियर महिला टोली सोमबार दुई मैत्रीपूर्ण खेलका लागि भारत प्रस्थान गर्दै छ। नेपाली यु–१७ टोली पनि साफ महिला च्याम्पियनसिप र एसियन कप छनोटको तयारी खेल्दै छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।