काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशको चौंथो शक्तिसहित राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२औं दिनमा नै सरकारबाट बाहिरिएको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले ११ पुसमा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिँदै रास्वपालाई सरकारमा सहभागी गराएका थिए ।
त्यसबखत रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै सरकारमा गएका थिए । त्यसपछि ३ माघमा मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई सांसद मन्त्री र एक सांसद राज्य मन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका थिए । उनीहरूले मन्त्री बनेको २० दिनमा नै राजीनामा दिएका छन् ।
रास्वपाले आइतबार केन्द्रीय सदस्य र सांसदको संयुक्त बैठकमार्फत् सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय लिएको हो ।रास्वपाको सो निर्णयसँगै सो दलबाट ३ माघमा सरकारमा श्रममन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ नै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्