
एजेन्सी । अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ । जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो ।
अन्ततः प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको हो । भिडियोमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध अमेरिकामा प्रदर्शन भइरहेको छ ।
जनवरी ७ मा प्रहरीले टायर निकोलस नामका २९ वर्षीय युवकलाई तीव्र गतिमा गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो । यस घटनामा पाँच प्रहरीलाई हत्याको आरोप लागेको छ ।
शुक्रबार सार्वजनिक भिडियोमा प्रहरीले निकोलसलाई ट्राफिक स्टपमा रोकेर निर्ममतापूर्वक कुटेको देखिन्छ । प्रहरीबाट भाग्ने प्रयास गरेका उनलाई प्रहरीले पक्राउपछि कुटपिट गरेको देखिन्छ ।
प्रहरीले भने निकोलसले बन्दुक खोस्न लागेपछि कुटपिट गरेको बताएको छ । उनको प्रहरीले अश्वेत भएकै कारण अमानवीय हत्या गरिएको आरोप लगाएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले टायर निकोलसको घटनाबाट आफू निकै दुखी भएको बताएका छन् । उनले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् । घटनामा संलग्न पाँचै प्रहरीलाई बर्खास्त गरिएको छ । उनीहरुविरुद्ध ज्यान मार्ने मुद्दा पनि दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्