२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


एनभिए क्लब भलिबल : न्यू डायमण्ड स्पोर्ट्स क्लब विजयी


130
Shares

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लव पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लवले विजय सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लवले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यू डायमण्डले नयाँ बजार समाजिय युथ क्लवलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजय शुरुवात गरेको हो ।

न्यू डायमण्डले जितबाट प्रतियोगिताको शुरुवात गर्दा नयाँ बजारले भने लगातार दोस्रो हार भोगेको छ । न्यू डायमण्डले नयाँ बजारलाई २५-२, २५-८ र २५-६ को सेटमा हराएको हो । यस जितसँगै डायमण्डले समूह ‘ए’ मा ३ अंक जोडेको छ ।

आजै सम्पन्न दिनको दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । यस जितसँगै पुलिसले दुई खेलबाट तालिकामा स्पष्ट ६ अंक जोड्न सफल भएको छ । एकतर्फी जित निकालेको पुलिसले एभरेष्टमाथि पहिलो सेटमा २५-१४, दोस्रो सेटमा २५-९ र तेस्रो सेटमा २५-६ को सहज जित निकालेको हो । यस समूहमा नयाँ बजार र एभरेष्ट रहेका छन् भने उनीहरुले अंक जोड्नसकेका छैनन् ।

आजै भएको पुरुष तर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लवले बुढानिलकण्ठ क्लवलाई हराउँदै जारी प्रतियोगितामा विजय शुरुवात गरेको छ । तीन पाकिस्तानी खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपालले बुढानिलकण्ठमाथि पहिलो सेटमा २५-१६, दोस्रो सेटमा २५-१९ र तेस्रो सेटमा २५-१६ को सहज जित निकालेको हो । यससँगै हेल्प नेपालले पनि जारी प्रतियोगितामा सुखद् शुरुवात गर्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको छ । यस्तै, दिनको दोस्रो खेलमा केशवलाल मेमोरियल भलिबल क्लवले मधेश प्रदेशलाई ३-१ सेटमा हरायो । केशवलालले २५-२१, २५-२३, २७-२९ र २५-१७ को सेटमा जित निकालेको हो ।

आजैै भएको पुरुष विधाको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले लागातार दोस्रो खेलमा पनि स्पष्ट जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा बलियो टोली दावाली क्लवलाई हराउँदै विजय शुरुवात गरेको आर्मीले मणिमुकुन्दलाई २५-११, २५-२० र २५-१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । पुरुषतर्फको सोमवारकै अन्ति खेलमा एपिएफले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५-९, २५-१४ र २५-१५ को सोझो सेटमा हरायो ।