काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रको अवस्थाकाे बारेमा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको साेही छलफलमा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयकाे बारेमा छलफल भएकाे प्रधानमन्त्रीको सचिवालय जनाएकाे हाे । बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा बुधबार अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग प्रधानमन्त्री दाहालले चासो राख्नुभएको हो ।
प्रधानमन्त्री दाहालले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिनुभएको छ । छलफलमा प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्नु पर्ने बताउनु भएकाे हाे ।
उहाँले अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाकाे बारेमा जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीलाई जानकारी गराउनुभएकाे थियो ।




प्रतिक्रिया दिनुहोस्