काठमाडाैं । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले न्यायापरिषद्को कामप्रति असन्तुष्टि जनाउनुभएको छ । ३२ औँ न्यायापरिषद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले परिषद्को काम पारदर्शी हुन नसकेको तर्क गर्नुभयो ।
आउँदा दिनमा परिषदको कामलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन सरोकारवाला निकाय चनाखो हुनुपर्नेमा जोड दिनुभयो । सर्वोच्च अदालतको कार्यबोझ र न्यायाधीश संख्याबिच तालमेल नमिलेको भन्दै उहाँले त्यसका लागि पनि ठोस योजना बनाएर अघि बढ्न सुझाब दिनुभयो ।
कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा न्यायाधीशको सङ्ख्या कम भएका कारण मुद्दाको फैसलामा ढिला हुने गरेको बताउनुभयो । सर्वोच्चमा मुद्दाको अनुपातमा न्यायाधीशको सङ्ख्यामा निकै कमी भएको उहाँको भनाइ छ।
न्यायाधीश नियुक्ति सँधै विवादित हुने गरेको भन्दै कार्कीले आउँदा दिनमा न्यायाधीश नियुक्तिको निर्देशिका अनुसार काम गर्ने बताउनुभयो । न्यायाधीश नियुक्ति, कारवाही र बर्खास्तीको ठोस जवाफ दिन सक्नेगरि काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता खम्मबहादुर खातिले न्याय परिषदले न्यायाधीश नियुक्ति गर्दा न्यायाधीश नियुक्ति निर्देशिका पालना गरेको–नगरेको विचरणिय भएको तर्क गर्नुभयो ।
न्यायाधीश नियुक्ति गर्दा नियुक्ति गर्नुपर्ने कारण र आधार पनि उल्लेख गर्न आवश्यक रहेको उहाँको भनाइ छ । दिवसको अवसरमा परिषद्ले उत्कृष्ट न्यायाधीशलाई सम्मान पनि गरेको छ ।




प्रतिक्रिया दिनुहोस्