Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छुः पूर्व मन्त्री खड्का


195
Shares

गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले काँग्रेसमा बसेर राजनीति गर्ने बताउनुभएको छ ।

मङ्गलबार बर्खास्तीमा पर्नुभएका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताउनुभयो । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगर्नुभएको बताउँदै उहाँले सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो ।

टिकट नपाएकै कारण कांग्रेस नछाड्ने बताउँदै उहाँले आफूले अखण्ड नेपाल पार्टीलाई काग्रेसमा समाहित गरेर आएको र पार्टीले सांसद, लेखा समिति सभापति, मन्त्री जस्ता जिम्मेवारी दिएको उल्लेख गर्नुभयो ।

बर्खास्तीबारे मुख्यमन्त्रीसँग जवाफ खोज्ने बताउँदै उहाँले यो बर्खास्ती विन्दुकुमार थापा र मुख्यमन्त्रीसँग पछिल्लो समयमा चिसिएको सम्बन्ध कारण हुनसक्ने संकेत गर्नुभयो ।

आफूले उम्मेदवार विन्दुकुमार थापालाई असहयोग नगरेको तर थापाले आफूलाई निराधार आरोप लगाएको खड्काले बताउनुभयो ।

आफू मन्त्री पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उहाँले यस अवधिमा यातायात क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गर्नुभयो ।