Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


विशेषले उल्टाएको ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार


117
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले ती मुद्दा सर्वोच्चमा मंगलबार पुनरावेदन दर्ता गरेको हो । आयोगले प्रतिवादी कृष्णहरि वाग्लेविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । वाग्लेलाई २५ हजार बिगो दावीसहित दायर गरेको घुस रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेषले प्रतिवादीले इन्कारी बयान दिएको आधारमा सफाइ दिएको थियो ।

यता, आयोगले भने प्रतिवादीले मौकामा कसूर सावित भई आफैं हस्तलिखित गरेको बयान प्रमाण ऐन, २०३१ को दफा ९९२०ले प्रमाण योग्य देखिएको जिकिर गर्दै पुनरावेदन गरेको जनाएको छ । त्यस्तै, आयोगले विशेष अदालतले सफाइ दिएको प्रतिवादी जय नेपाल थापा, चित्रबहादुर केसी, कमलप्रसाद पौडेल, सिद्धार्थ जोशीलगायतको मुद्दामा पनि पुनरावेदन दिएको छ । ५० हजार घुस लिएको अभियोग लागेका भ्रष्टाचार मुद्दामा सफाइ पाएका प्रतिवादी देवीप्रसाद गौतम र नेत्रप्रसाद लामिछानेको हकमा पनि सर्वोच्चमा पुनरावेदन दिएको छ ।

यसैगरी, आयोगले प्रतिवादी सुरेन्द्रराज अधिकारी, नारायणराज मिश्र र भाइकाजी गौतम, प्रकाश तिवारी र लोकराज जोशीविरुद्धको घुसवत रिससम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालले सफाइ दिएपछि सो उपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारले योसहित साउनयता मात्रै १ सय ३५ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ । अघिल्लो साता मात्रै १ सय १२ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको जानकारी गराएको थियो । त्यसअघि १० मुद्दा पनि पुनरावेदन गरेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।