पोखरा । पोखरा महानगरपालिका–५ माले पाटनका भरत शर्मा (नाम परिवर्तन) सरकारी कर्मचारी हुन्। अघिल्ला सबै जसो चुनावमा उम्मेदवारलाई भन्दा बढी चुनाव उनलाई लाग्थ्यो। कलाकारको टोली नै लिएर एमालेको घरदैलो र कोणसभामा गीत गाउँदै र नाच्दै हिँड्ने उनलाई चुनावको अन्तिम एक महिना भ्याई नभ्याई हुन्थ्यो तर अहिलेको चुनावले उनलाई छोएन। पहिलेजस्तो कुनै सांस्कृतिक कार्यक्रममा पनि उनी सहभागी छैनन्।
कास्कीको रूपा गाउँपालिकाका कांग्रेस नेता प्रकाशमोहन खनाललाई पनि पहिलेको चुनावमा जस्तो रस छैन। भोट खसाल्नुभन्दा एक–डेढ महिना अघिदेखि नै उनलाई चुनावी चटारोले छुन्थ्यो। तर यसपटक खनाललाई चुनाव आएजस्तै लागेको छैन। घरदैलोका क्रममा उम्मेदवार घरमा आउँदाबाहेक उनले बाहिरी चुनावी गतिविधि देखेका छैनन्। जबकि आफ्नो दलका उम्मेदवारका लागि भोट माग्न पनि उनी निस्केका छैनन्।
भरत र प्रकाश मात्रै होइनन्, यसपटकको चुनाव धेरैलाई लागेको छैन। व्यवसायी, विद्यार्थी, कलाकार, सर्वसाधारणले कसैले पनि चुनावी माहोल तातेको देखेका छैनन्। राजनीतिक दलकै कार्यकर्तालाई पनि यसपटक चुनाव लागेको छैन। भोट खसाल्ने दिन नजिकिँदै गए पनि निर्वाचनबारे धेरैलाई चासो छैन। न सर्वसाधारणले घरदैलो कार्यक्रम देखेका छन् न कोणसभा नै। उम्मेदवारको घरदैलोमा पनि ८र१० जनाभन्दा बढी हिँडेको देख्नै पाइन्न। चुनावी माहोलमा पुराना नेता तथा कार्यकर्ता, शुभेच्छुक र मतदाता त परिचालित भएनन् नै, स्वयं राजनीतिक दल पनि सक्रिय देखिँदैनन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्