Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


मतदानको दिन आवागमन व्यवस्थापन विगतको तुलनामा सहज


156
Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते आइतबार हुने मतदानको दिन आवागमन व्यवस्थापनलाई विगतको तुलनामा निकै सहज बनाएको छ । विगतमा चुनावको दिन सवारीसाधन चलाउन पाउने सूचीमा राखिएका सवारीसाधन प्रयोग गर्न सम्बन्धित जिल्ला प्रशासनको अनुमति लिएर चलाउनुपर्ने स्थिति थियो । अहिले त्यसलाई परिमार्जित गरी सवारीसाधन चलाउन पाउने सूचीमा थप गरी अनुमति लिन नपर्ने व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । तर, मतदाता ओसारपसार गर्न भने ती सवारीसाधनले पाउने छैनन् ।

विगतमा बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल प्रयोग गर्न मात्र अनुमति लिन नपर्नेमा अहिले खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन र दूध बोक्ने सवारीसाधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु पर्दैन । त्यसै गरी पत्रकारले पनि आफ्नो सवारी चलाउन अनुमतिपत्र लिन नपर्ने व्यवस्था गरिएको छ । विगतमा काठमाडौं उपत्यकाको हकमा सूचना विभागको सिफारिसमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले पत्रकारलाई सवारी प्रयोग गर्न अनुमतिपत्र दिने गरेको थियो ।

त्यसलाई यसपटक परिवर्तन गरी अब सवारीसाधन प्रयोग गर्न सूचना विभाग, प्रदेश सञ्चार रजिस्ट्रार वा सञ्चार गृहले दिने परिचयपत्र पनि मान्य हुने भएको छ ।आयोगको निर्णयमा भनिएको छ– ‘सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।