गाउँसहर (लमजुङ) । गाउँसहरस्थित लमजुङ माध्यमिक विद्यालयको अस्तित्व संकटमा परेको छ । विद्यालयमा निरन्तर विद्यार्थी घट्दै जाँदा पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
पठनपाठनका लागि बनाइएका विद्यालयका भवन जीर्ण बन्दै गएका छन् । संरक्षणका लागि पर्याप्त स्रोत नहुँदा अन्य संरचना पनि बिस्तारै मक्किन थालेका छन् । विद्यालय परिसरमा प्रशस्त जग्गा भए पनि संरक्षणका लागि आर्थिक अभाव हुँदा झारले ढाकेका छन् ।
२००५ सालमा स्थापना भएको यो विद्यालय लमजुङको पुरानोमध्येको पर्छ । त्यति बेला राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे संस्थापक प्रधानाध्यापक रहनुभएको थियो । स्वर्गीय कप्तान प्रेमबहादुर थापा अध्यक्ष तथा अन्य आठ जना संस्थापक सदस्य रहनुभएको थियो ।
विद्यालयमा अहिले कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ तर सबै कक्षामा गरेर कुल १४४ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । भर्ना भएकामध्ये पनि सबै विद्यार्थी नआउँदा कक्षामा कुनै दिन विद्यार्थी उपस्थिति नै शून्य हुने गरेको छ । अन्य दिनमा पनि तल्लो तहका कक्षामा दुई, तीन जना विद्यार्थी मात्रै उपस्थित हुन्छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्