Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


जलवायु परिवर्तनको असर : सगरमाथासहितका विश्वसम्पदा जोखिममा


143
Shares

काठमाडौं । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै हिम गलनको स्थिति बढ्दा नेपालको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित विश्वका ५० वटा विश्वसम्पदा क्षेत्र सन् २०५० सम्ममा लोप हुने अवस्था पुगेका छन् । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाली क्षेत्रको हिम गलनमा तीव्रता आएकाले ती क्षेत्रमा रहेका विश्वसम्पदा सूचीका प्राकृतिक सम्पदा लोप हुने अवस्थामा पुगेको देखाइएको छ ।

क्यानडा र अमेरिकाका विश्वसम्पदा क्षेत्र लुआने, वाङ्गेल इलियास, ग्लेसियर बे र तात्सेनसिनी–अल्सेक, अर्जेन्टिनाको लस ग्लेसियर्स राष्ट्रिय निकुञ्ज, न्युजिल्यान्डको ते बाहिपौनामु, स्विजरल्यान्डको स्विस आल्पस जङ्गफ्राउ, डेनमार्कको लुलिसाट आइसजोर्ड, नर्वेको गेराङ्जोर्ड र नर्वेजोर्ड, ताजिकस्तानस्थित पामिरको पहाडमा रहेको ताजिक राष्ट्रिय निकुञ्ज, आइसल्यान्डको भात्नाज्योक्युल नेसनल पार्कसहित दुई राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम गलन उच्च अवस्थामा देखिएको छ ।

त्यस्तै तान्जिनियाको माउन्ड किलिमन्जरो क्षेत्र, केन्याको राष्ट्रिय निकुञ्ज र वनक्षेत्र, युगान्डाको रुन्जोरी पर्वत राष्ट्रिय निकुञ्ज, कङ्गोको बिरुङ्गा राष्ट्रिय निकुञ्जसँगै अलास्का, मध्यएसिया, मध्ययुरोप र दक्षिण एन्डिज पर्वतछेउका ठूला हिमनदीहरू गरेर ५० वटा विश्वसम्पदा लोप हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।

हालसालै सार्वजनिक भएको तापक्रम वृद्धिको नयाँ गतिले २ डिग्री सेल्सियस नाघ्ने तथ्य वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ । तर पहिलेको घोषणाअनुसार विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा रोक्न सकेको खण्डमा भने ५० वटा हिमाली विश्व सम्पदामध्ये दुईतिहाइलाई बचाउन सकिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।