२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


निर्वाचन सञ्चालनका लागि भारतद्वारा नेपाललाई २ सय सवारीसाधन सहयोग


390
Shares

काठमाडौं । आसन्न निर्वाचन सञ्चालनका लागि भारतले नेपाललाई सहयोग स्वरुप २ सयवटा सवारीसाधन प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट उपहार स्वरूप २ सय सवारीसाधन प्रदान गरेका हुन् ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सो सवारीसाधनमा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने बताइएको छ ।

यी सवारीसाधनले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवं प्रबन्धलाई व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्‍याउनेमा जोड दिइएको छ ।

सवारीसाधन प्रदान गरेपछि अर्थमन्त्री शर्माले यस्ता सहयोग लगायत विकास साझेदारीका रूपमा नेपाललाई निरन्तर सहयोग गरेको भन्दै भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिए ।

भारत सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई गरी झण्डै दुई हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई चार सय वटा गरी हालसम्म निर्वाचनको समयमा दुई हजार चार सय भन्दा बढी सवारीसाधन उपहार स्वरूप प्रदान गरिसकेको छ ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पुर्‍याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।