२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वर्षा र दशैं बिदाका कारण ८ सय मेगावाट बिजुली खेर

बिजुली बेच्न गरिएको प्रस्तावप्रति भारत मौन

91
Shares

काठमाडौं । दशैंको बेला विद्युतको माग ह्वात्तै घट्दा दैनिक करिब ८ सय मेगावाट विद्युत खेर गइरहेको छ ।

दशैंमा सबै उद्योग कलकारखाना बन्द र निरन्तर पानी परेर चिसो बढ्दा देशभित्र विद्युतको माग घटेको हाे । तर, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका विद्युत गृहबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएकोले दैनिक करिब ८ सय मेगावाटको विद्युत खेर गइरहेको हो । प्राधिकरणका अनुसार राति दैनिक ७ सय देखि ८ सय मेगावाटसम्म र दिउँसो ४ सय देखि ५ सय मेगावाट विद्युत खेर गइरहेको छ ।

प्राधिकरणले दैनिक करिब ४ सय मेगावाट विद्युत भारतमा बिक्री गरिरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २ सय १२ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि प्रस्ताव गरेको छ । तर, भारतीय पक्षबाट अनुमति नआउँदा विद्युत खेर जाने अवस्था आएको हो ।

प्राधिकरणले सुरुमा ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला, २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरेको थियो।त्यसलगत्तै उसले ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेकाे थियाे ।

तर त्यस विषयमा उताबाट कुनै प्रतिक्रिया भने आएको छैन् ।