
सियोल, असार २ । उत्तर कोरियाले दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ ।
दुवै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनावकैबीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती सहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ । यसबारेमा मन्त्रालयले कुनै थप विवरण दिएको छैन ।
योनहाप न्यूज एजेन्सीले सम्प्रेषण गरेका तस्वीरहरुमा अन्तर–कोरियाली सम्पर्क कार्यालय रहेका स्थानहरुबाट धुवाँको मुस्लो उडेको देखिएको छ ।
एजेन्सीकाअनुसार हाल बन्द रहेको औद्योगिक क्षेत्रमा अन्तर–कोरिया सम्पर्क कार्यालय रहेका थिए ।
उत्तर कोरियाले उक्त सम्पर्क कार्यालय भत्काउने यसअघि नै धम्की दिँदै आएको थियो ।
खासगरी सीमावर्ती क्षेत्रबाट दक्षिण कोरियाली अधिकारवादी समूह तथा व्यक्तिहरुले उत्तर कोरियाली नेताविरुद्ध पर्चाहरु बेलुनमार्फत् उडाएको र त्यसलाई रोक्न दक्षिणले पर्याप्त काम नगरेको उत्तर कोरियाले आरोप लगाउँदै आएको थियो ।
केही विज्ञहरुले भने अमेरिकी अग्रसरतामा उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरुका कारण संयुक्त आर्थिक परियोजनाहरु पुनः सुरु गराउन दक्षिण कोरिया असफल भएकाले त्यसैको रिस फेर्न संयुक्त कार्यालय ध्वस्त बनाइएको बताएका छन् ।
शनिबार राति उत्तर कोरियाली नेताकी बहिनी किम यो जोङले उपयोगिताविहीन अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त पारिदिने चेतावनी दिएकी थिइन् ।
सन् २०१८ मा दुवै कोरियाबीच सहमतिकाअनुसार काइसोङमा पहिलो सम्पर्क कार्यालय स्थापना गरिएको थियो । यस कार्यालयले दुवै मुलुकबीचको सञ्चार सम्पर्कलाई सहज र सुदृढ बनाउने लक्ष्य राखिएको थियो ।
यो कार्यालय स्थापना हुँदाताका दुवै कोरियाबीचको सम्बन्ध निकै प्रगाढ भएको थियो । उत्तर कोरिया आणविक निःशस्त्रीकरण वार्तामा पनि बसेको थियो ।
अघिल्लो मंगलबार उत्तर कोरियाली सेनाले अन्तर–कोरियाली शान्ति–सम्झौताबमोजिम तोकिएको असैनिक क्षेत्रमा पुनः प्रवेश गर्ने चेतावनी दिएको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ को सुरुमा भियतनाममा भएको दोस्रो द्विपक्षीय वार्ता बिनानिष्कर्ष समाप्त भएसँगै दुवै देशबीचको सम्बन्ध सोचेजति सकारात्मक हुनसकेको छैन । रासस/एपी
प्रतिक्रिया दिनुहोस्