Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


असोज २४ देखि ग्रिन हाइड्रोजन सम्मेलन हुने


130
Shares

काठमाडौं । आगामी असोज २४ गतेदेखि ग्रिन हाइड्रोजन सम्मेलन हुने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

एमआईटी ग्रुप फाउण्डेसन, ग्लोवल एनआरएन फाउण्डेसन, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संयुक्त आयोजनामा दुई दिने नेपाल ग्रिन हाइड्रोजन समिटको पहिलो संस्करण हुने भएको हो ।

नेपाल हरित हाइड्रोजन सम्मेलनः ‘पग्लिदै गरेको हिमालका लागि एन्टिडोज’ भन्ने नाराका साथ आयोजना गरिएको आयोजकले बताएका छन् ।

सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तन, असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ उर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने रहेको आयोजक नेपाल ग्रिन हाइड्रोजनले जनाएको छ ।

एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली सघं (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले नेपालमा ग्रिन हाइड्रोजनको उत्पादनका लागि पूर्वाधार र श्रोत उल्लेख्य भएपनि व्यवसायिक रुपमा कसरी अगाडी बढ्न सकिन्छ भने अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले परिणामका लागि चाहना मात्रै भएर नपुग्ने भन्दै सरकारको नीति लगायतका कुरा आवश्यक रहेको बताउनुभयो । उहाँले हाल नेपालमा हाइड्रोजनसम्बन्धी कानूनी व्यवस्था नै नहरको जिकिर गर्नुभयो ।

सम्मेलनमा नेपालमा हरित हाइड्रोजन उत्पादन र जलवायु परिवर्तनको असर न्युनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा वहस र विश्लेषण हुने छ । योसँगै नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । दुई दिने सम्मेलनमा नेपालका उद्योग क्षेत्रका व्यक्तित्व, सरकारी निकायका प्रतिनिधि, विकास साझेदार, वहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तर्राष्ट्रिय विज्ञ, हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहने जनाएको छ ।