Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल


0
Shares

काठमाडौं । भारतद्वारा अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई वैधानिकता दिन हिजो प्रतिनिधिसभाबाट पारित संविधान संशोधन विधेयक राष्ट्रियसभामा टेबुल भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ टेबुल गरेका हुन् ।

संविधान संशोधन विधेयक सन्देश टेबुल लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरेका छन् ।

प्रतिनिधिसभाबाट सूचनासहित आएको संविधान संशोधन विधेयकमाथि आज नै सैद्धान्तिक छलफल सकेर विधेयकमाथि संशोधन राख्न ७२ घण्टाको समय दिने तयारी रहेको अध्यक्षको सचिवालयले जनाएको छ ।

भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नक्सा अद्यावधिक गरेपछि अद्यावधिक नक्सालाई निशान छापमा राख्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो ।

विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरिसकेको छ ।