३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


सिन्धुलीमा मेवाखेती फस्टाउँदै


130
Shares

सिन्धुली । सिन्धुलीका राजमार्ग आसपासका क्षेत्रमा मेवाखेती व्यवसायिक रुपमा फस्टाउन थालेको छ ।

सिन्धुलीको लामो क्षेत्रफल ओघट्ने वीपी, मदन भण्डार र पुष्पलाल मध्यपहाडी राजमार्गका कारण सार्वजनिक यातायातका साधनहरू समेत सडकमा अत्याधिक रुपमा संचालन भएका छन् । पाकेको मेवा राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई खुर्कोट, खनियाखर्क, चियाबारी, सिन्धुलीमाडी र भिमान बजारमा बिक्री वितरण हुने गरेकाे छ । जसका कारण आर्थिक आय आर्जन गर्ने प्रमुख उदेश्य लिएर मेवाखेती सुरू गरिएको किसानहरुले बताएका छन् ।

मेवाखेती गर्नका लागि कृषि ज्ञानकेन्द्र सिन्धुलीले समेत स्थानीय किसानहरूलाई सिप र तालिम प्रदान गरेपछि मेवा खेतीतर्फ किसानहरू आकर्षित भएका हुन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको रातमाटा, राममाडी, ढुङग्रेबास, भिमान र खुर्कोट लगायतका क्षेत्रहरुमा पछिल्लो समयमा मेवा खेतीको विस्तार हुँदै गएको छ ।

मेवाखेतीका लागि मध्यम गरम जलवायु आवस्यक पर्दछ । सिन्धुलीको भू–बनोट र जलवायु समेत मेवा खेतीका लागि सुहाउँदो भएकाले मेवाखेती सिन्धुलीको कमलाखोंच, मरिण र गढतिर क्षेत्रमा समेत विस्तार भएको छ । त्यस्तै मेवा स्वच्छ फलको रुपमा समेत मानिने हुँदा जन्मदेखि मरणसम्मका विभिन्न कामकामा यसको महत्व र उपयोगिता समेत बढेर गएको छ ।

प्रायः सबै महिना फल्ने मेवा सिन्धुली जिल्लामा प्रतिवर्ष २ हजार ५ सय मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ ।सिन्धुलीमा उत्पादन भएको मेवालाई सहज रुपमा बिक्री वितरण गर्न सके प्रतिवर्ष २ करोड आम्दानी हुने एक तथ्यांकले देखाएको छ । सिन्धुलीका राजमार्ग आसपासका स्थानहरुमा पाकेको मेवा प्रतिकेजी १ सयदेखि २ सय रुपैयाँसम्म बिक्री –वितरण गरेको छ ।