३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था बन्द गर्नुपर्छ : डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीले शंकास्पद व्यक्तिलाई पक्राउ गर्दा घाँटी थिच्ने व्यवस्था सामान्य रुपमा बन्द गरिनु पर्ने पक्षमा रहेको बताए ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजसंग कुरा गर्दै उनले घाँटी थिच्न प्रतिबन्ध लगाउनु अति राम्रो हुने भन्दै तर अझै पनि केही अवस्थामा भने सो कार्य आवश्यक हुन सक्ने तर्क गरे ।

अमेरिकी कांग्रेसमा डेमोक्र्याट्स र रिपब्लिकनहरुले प्रहरी सेवा सुधार सम्बन्धी विधेयकमा पनि घाँटी थिच्न प्रतिबन्ध लगाउने जोड दिएपछि राष्ट्रपति ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो ।

प्रहरी नियन्त्रणका क्रममा अश्वेत अमेरिकी नागरिकको मृत्यु भएपछि चर्किएको विरोधपछि कतिपय अमेरिकी प्रहरीले घाँटी थिच्ने कार्यमा रोक लगाएका छन् ।

गत मे २५ मा मिनेशोटाको मिनियापोलसमा निहत्था फ्लोइडलाई प्रहरीले नियन्त्रणका क्रममा घुँडाले थिचेपछि उनको मृत्यु भएको थियो ।

त्यसपछि प्रहरी ज्यादती  र रंगभेदविरुद्ध अमेरिकासहित विश्वभर प्रदर्शन भइरहेको छ । ट्रम्पमाथि प्रहरी प्रशासनमा सुधार गर्न चर्को दबाब छ ।(एजेन्सी)