
काठमाडौं । बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । बिहीबार मात्रै मकवानपुर र रुकुमपूर्वमा भएका सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् ।
दशैंको घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको र त्यसमा परी एक सय जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याङ्कमा छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकबहादुर राईले हरेक वर्षका दशंै तिहारको समयमा बढी सडक दुर्घटना हुने गरेको बताउँदै भन्नुभयो, ‘चालकको लापरबाही र सडक तथा सवारी साधनको अवस्थाले दुर्घटना हुने गरेको छ । चाडपर्वमा सवारीको चाप अत्यधिक हुने भएकाले पनि समस्या बन्दै आएको छ ।’
प्रहरीको तथ्यांकअनुसार हरेक दिन सरदर सात जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । तर दशैंका बेला सो संख्यामा एकाएक वृद्धि हुने गरेको छ । अन्य समयमा निजी सवारीको दुर्घटना दर धेरै हुने गरेको छ भने दशैंमा सार्वजनिक यातायातको दुर्घटना धेरै हुने गरेको छ । दशैंका बेला तुलनात्मक रूपमा थोरै सवारी साधन दुर्घटना भए पनि मानवीय क्षति भने धेरै हुने गरेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्