Logo १४ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026


‘राष्ट्रपतिलाई संविधानको दायराबाहिर जाने छुट छैन’


1.8k
Shares

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिकाे पछिल्लाे कदममाथि गम्भीर प्रश्न उठाएका छन् ।

उनले वक्तव्य जारी गर्दै संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नरहेको धारणा व्यक्त गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक प्रमाणित नगरेपछि उपराष्ट्रपति पुनको यस्तो प्रतिक्रिया आएको हो।

विज्ञप्तिमा भनिएकाे छ, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन।’

पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठ्ने परिस्थितिको सिर्जना हुनुलाई उपराष्ट्रपतिले ज्यादै दुःखद पक्ष भनेका छन्।

२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । जसलाई संविधानको धारा ११३ (४) को गम्भीर उल्लंघन मानिएको छ ।

Skip This